- आश्विन ३१ गते टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण ।
- उत्कृष्ट फर्मेसन, युनिट तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक सम्मानित ।
- पदोन्नति हुनुभएका सुबेदारहरूलाई दर्जायानी चिन्ह र प्रकृति संरक्षण पदक प्रदान ।
रे समाचार/काठमाडौँ । नेपाली सेनाद्वारा आगामी आश्विन ३१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोह २०८३ को प्रधान सेनापति महारथी अशोक राज सिग्देलले अन्तिम निरीक्षण गर्नुभएको छ । बडादसैँ २०८३ को अवसरमा देशमा शान्ति र समृद्धिको कामनासहित आयोजना गरिने उक्त समारोहको निरीक्षण आश्विन २९ गते सम्पन्न भएको हो ।
निरीक्षण पश्चात् आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पेसागत प्रतियोगितामा सर्वोत्कृष्ट हुने विभिन्न फर्मेसन तथा युनिटहरूलाई पुरस्कार तथा कदर पत्र प्रदान गर्नुभयो । साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई 'प्रधान सेनापति प्रशंसा निशान'द्वारा सम्मानित गरिएको छ ।
त्यसैगरी, मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानी दर्जामा पदोन्नति हुनुभएका सुबेदार तथा प्राविधिक सुबेदारहरूलाई दर्जायानी चिन्ह (इन्सिग्निया) प्रदान गरियो । सोही अवसरमा प्रकृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने सकलदर्जालाई 'प्रकृति संरक्षण पदक' प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
उक्त अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द, सकलदर्जा, सैनिक परिवारजन तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
फोटो फिचर






