RayNewsDaily
सिन्धुली सुमो दुर्घटना : तीन युवतीको मृत्यु, तीन बेपत्ता र चारजना घाइते
  • दुर्घटनामा मृत्यु हुने तीनै जनाको पहिचान खुल्यो ।
  • तीन जना बेपत्ता, चार जना घाइते ।
  • गम्भीर घाइते महिलालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो ।

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु भएका तीन जना र बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ ।

को १ ज २९७६ नम्बरको सुमो दुर्घटनामा मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा हुनुहुन्छ ।

लफ्याङका स्थानीय जनक राईका अनुसार युपना र दिव्या काठमाडौँमा बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्दै आउनुभएको थियो । स्वस्तीका भने काठमाडौँमा बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा हुनुहुन्थ्यो ।

गएराति करिब २:३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हुनुहुन्छ ।

दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते हुनुभएको छ ।

प्रहरीका अनुसार चालक आशिष बेहोस हुनुहुन्छ भने सम्झनाको अवस्था गम्भीर छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काठमाडौँबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना सवार थिए । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update