RayNewsDaily
सत्तारुढ रास्वपाका सचेतक परियारको रिपोर्ट कार्ड सार्वजनिक, संसद्मा जनसरोकारका मुद्दादेखि विधेयक संशोधनसम्म सक्रियता
  • सामाजिक न्याय, दलित अधिकार र सुशासनका मुद्दा संसद्मा उठाएको विवरण ।
  • विधेयक संशोधन र बजेटमाथिको छलफलमा सहभागिता ।
  • संसदीय सचेतकको समन्वयकारी भूमिका र सामाजिक गतिविधि समेटिए ।

रे समाचार/काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक भएको छ ।

रिपोर्ट कार्डमा परियारले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहिताका विषयमा संसद्मा आवाज उठाएको उल्लेख छ । उहाँले विधेयक निर्माण तथा संशोधन प्रक्रियामा सहभागिता जनाउनुका साथै संसदीय दलको सचेतकका रूपमा समन्वयकारी भूमिका निर्वाह गरेको विवरणमा जनाइएको छ ।

जनसरोकारका मुद्दामा जोड

रिपोर्ट कार्डअनुसार परियारले सामाजिक न्याय, नागरिक अधिकार, जनजीविका, सहकारी क्षेत्रका समस्या र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थाका विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, पूर्ण प्रेस स्वतन्त्रता, जलवायु न्याय, ध्वनि प्रदूषण नियन्त्रण, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका विषयलाई पनि प्राथमिकतामा राख्नुभएको विवरणमा उल्लेख छ ।

दलित समुदायमाथिको ऐतिहासिक विभेद अन्त्य, अधिकार सुनिश्चितता र नीतिगत सुधारको आवश्यकता औँल्याउँदै उहाँले सार्वजनिक शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्ने विषयसमेत उठाउनुभएको रिपोर्ट कार्डमा जनाइएको छ ।

विधेयक र बजेटमाथिको छलफलमा सहभागिता

परियारले संसद्मा विभिन्न विधेयकमाथि संशोधन तथा टिप्पणी प्रस्तुत गरेको विवरणमा उल्लेख छ । उहाँले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसँग सम्बन्धित विधेयक तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा सहभागिता जनाउनुभएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि पनि उहाँले आफ्नो धारणा राख्नुभएको रिपोर्ट कार्डमा उल्लेख छ । विधेयक तथा नीतिगत प्रस्तावमाथिको छलफलमा सहभागिता जनाउँदै कानुन निर्माण प्रक्रियामा योगदान पुर्‍याएको विवरणमा जनाइएको छ ।

सचेतकका रूपमा समन्वयकारी भूमिका

संसदीय दलको सचेतकका रूपमा परियारले सांसदहरूबीच समन्वय गर्ने, संसदीय गतिविधिमा सक्रियता बढाउने तथा पार्टीको नीति र धारणाअनुसार संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गरेको रिपोर्ट कार्डमा उल्लेख छ ।

संसदीय दलका बैठकमा उपस्थिति, विधायिकी कार्यव्यवस्थासम्बन्धी परामर्श तथा संसदीय मर्यादा र प्रक्रियाको पालना गराउने विषयलाई पनि उहाँको कार्यप्रगति विवरणमा समेटिएको छ ।

समितिदेखि सामाजिक गतिविधिसम्म

रिपोर्ट कार्डमा कानुन निर्माण, न्याय तथा मानव अधिकारसम्बन्धी संसदीय समिति र छलफलमा सहभागिता जनाएको विवरण पनि समावेश छ । समितिगत काममार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

यसका अतिरिक्त, राष्ट्रिय दलित आयोगका अध्यक्षसँगको भेटवार्ता, दलित समुदायको थर सूचीकरणसम्बन्धी छलफल, विद्यार्थीहरूसँग दलित अधिकारका विषयमा संवाद तथा प्रारम्भिक बालविकासका क्षेत्रमा क्रियाशील संस्थासँगको सहकार्यलाई पनि रिपोर्ट कार्डमा समेटिएको छ ।

सामाजिक रूपान्तरण, शैक्षिक परामर्श, साहित्यिक बहस, राजनीतिक संवाद र नागरिक सरोकारका विभिन्न कार्यक्रममा सहभागिता जनाएको विवरणसमेत सार्वजनिक गरिएको छ ।

रिपोर्ट कार्डले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा परियारको संसदीय भूमिका जनसरोकारका मुद्दा उठाउने, विधेयक तथा नीतिगत छलफलमा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने र सामाजिक सवालमा सक्रिय रहने विषयमा केन्द्रित रहेको देखाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update