RayNewsDaily
सद्भाव र एकताको आह्वान गर्दै पूर्वराजा ज्ञानेन्द्रको अपिल
  • पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आह्वान ।
  • सुनसरी घटनापछि उत्पन्न तनावप्रति दुःख व्यक्त गर्दै हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह ।
  • नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचान जोगाउन सबै नेपाली मिलेर अघि बढ्नुपर्नेमा जोड ।

रे समाचार/काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न स्थानमा पछिल्ला दिनमा भएका हिंसात्मक घटना र त्यसबाट उत्पन्न सामाजिक तनावप्रति गहिरो दुःख व्यक्त गर्दै सबै नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्नुभएको छ ।

निर्मल निवासबाट बिहीबार जारी गरिएको ‘सद्भाव सन्देश’मा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यही विविधताले नेपालको पहिचान र गौरव निर्माण गरेको उल्लेख गर्नुभएको छ । उहाँले धर्म, संस्कृति र रीतिरिवाजको सम्मान गर्दै आपसी मेलमिलाप कायम राख्नु नै नेपाली समाजको मौलिक विशेषता भएको बताउनुभएको छ ।

king-1785425853.jpg
सन्देशमा केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका अन्य क्षेत्रमा समेत फैलिएकोप्रति चिन्ता व्यक्त गरिएको छ । यस्ता घटनाले सामाजिक सद्भाव र शान्तिमा असर पुग्ने भन्दै उहाँले त्यसलाई नेपाली समाजको मूल्यमान्यता विपरीतको विषय भएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले कुनै पनि व्यक्ति वा समूहबाट सामाजिक सद्भाव खलबलिने गतिविधि हुन नहुनेमा जोड दिँदै देशका सबै समुदायबीच आपसी विश्वास, सहिष्णुता र भाइचारालाई थप सुदृढ बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल निर्माणको सुरुदेखि नै नेपाली समाज प्रेम, सद्भाव र सहअस्तित्वको भावनामा अघि बढेको उल्लेख गर्दै यही एकता र मेलमिलापको परम्परालाई जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । सन्देशको अन्त्यमा उहाँले सबै नेपालीलाई एकताबद्ध भएर राष्ट्रिय सद्भाव कायम राख्न आह्वान गर्दै ‘जय नेपाल’ उल्लेख गर्नुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update