- जलवायु तथा वातावरण कूटनीतिलाई संस्थागत बनाउन नयाँ शाखा ।
- अन्तर्राष्ट्रिय पहलमा सहजीकरण र राष्ट्रिय निकायसँग समन्वय गर्ने ।
- जलवायु कूटनीतिलाई दीर्घकालीन प्राथमिकता बनाउन मन्त्री खनालको जोड ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ ।
जलवायु परिवर्तन र त्यसबाट परिरहेको प्रभावलाई ध्यानमा राख्दै वर्तमान आवश्यकता सम्बोधन गर्न शाखा स्थापना गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’ रहने व्यवस्था गरिएको हो ।
नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ । नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएको अवस्थामा त्यसलाई थप समन्वित र संस्थागत बनाउन शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन वा अन्य कार्यक्रममा सहभागितामा मात्र केन्द्रित हुँदा जलवायु कूटनीतिको सामर्थ्य विस्तार नहुने उहाँको भनाइ छ । रासस
