- गोरक्षेश्वर धाममा धार्मिक पर्यटकको आकर्षण बढ्दो ।
- संस्कृत वेद विद्यालय र धर्मशालाले धामको महत्त्व बढायो ।
- गौशाला निर्माणको अवधारणा अझै कार्यान्वयन हुन सकेन ।
बागमती । हेटौँडास्थित गोरक्षेश्वर धाम धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । धार्मिक सम्पदा, संस्कृत वेद विद्यालय, धर्मशाला तथा सामाजिक सेवामूलक पूर्वाधारका कारण धाममा आन्तरिकसँगै भारतीय श्रद्धालुको आगमनसमेत बढ्न थालेको छ ।
हेटौँडा उपमहानगरपालिका-१० मा राप्ती नदी पार गरेलगत्तै मुख्य प्रवेशद्वार नजिक रहेको धाम परिसरमा हनुमान, शनि, शिव पञ्चायन, १०८ शिवलिङ्ग, सरस्वती र नाग मन्दिरलगायत धार्मिक संरचना रहेका छन् ।
धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालका अनुसार विसं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएपछि यो क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक बन्दै गएको हो । धामको समग्र विकासका लागि विभिन्न समयमा महायज्ञ आयोजना गरिएको र त्यसबाट सङ्कलित रकमबाट धर्मशाला तथा ढिकुरी पाटी निर्माण गरिएको उहाँले बताउनुभयो ।
धाममा कोठा भाडामा बस्ने सर्वसाधारणलाई काजक्रियामा सहज होस् भन्ने उद्देश्यले क्रियापुत्री भवन निर्माण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरी सहुलियत शुल्कमा दाहसंस्कारको व्यवस्था गरिएको छ । दाहसंस्कारका लागि रु दुई हजार र १३ दिने काजक्रियाका लागि रु १५ हजार शुल्क तोकिएको छ ।
धाम परिसरभित्र करिब पाँच कठ्ठा जग्गामा स्थापना गरिएको संस्कृत वेद विद्यालयमा देशका विभिन्न जिल्लाबाट आएका ४० जना विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययन गराइँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
धाममा नियमित पूजाआजाका लागि पुजारी, सम्पत्ति संरक्षणका लागि कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । भक्तजनले चढाएको भेटी पुजारीलाई दिने प्रचलन रहेको छ । बाला चतुर्दशीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ भने पछिल्लो १५ वर्षदेखि प्रत्येक महिनाको अन्तिम सोमबार गङ्गा आरती आयोजना हुँदै आएको छ ।
धाम सञ्चालन तथा व्यवस्थापनका लागि वार्षिक करिब रु १० लाख खर्च हुने गरेको छ । उक्त रकम दानबाट जुटाइने गरिएको समितिले जनाएको छ । पार्किङ सेवा पनि धामको आयस्रोत बनेको छ । यहाँ आउने भारतीय धार्मिक पर्यटकले स्नान तथा भ्रमणपछि सवारी पार्किङ गर्दा रु ८०० र आन्तरिक पर्यटकबाट रु ५०० शुल्क लिने गरिएको छ ।
धाम परिसरमा गौशाला स्थापना गर्ने अवधारणा २०६७/६८ सालमै अघि सारिए पनि आवश्यक स्रोत अभावका कारण हालसम्म कार्यान्वयन हुन सकेको छैन । रासस
