RayNewsDaily
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको पाँच सय वर्ष पुरानो लाखे नाच
  • नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लाखे नाच लोपोन्मुख ।
  • बसाइँसराइ र युवाको घट्दो चासोले सांस्कृतिक रौनक खस्किँदै ।
  • युवा समूहको सक्रियताले लाखे नाच जोगाउने प्रयास जारी ।

रामचन्द्र रायमाझी/पाल्पा । दुई दशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे । लाखे नाचको छुट्टै रौनक हुन्थ्यो । दुई/चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरू नाच हेरेर फर्कन्थे । मैन्टोल र लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो ।

लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबुढीसम्म घण्टौँ हिँडेर तानसेन आउँथे । अहिले भने नेवार समुदायको बसाइँसराइ र विदेश पलायनसँगै लाखे नाचको रौनक सेलाउँदै गएको छ ।

पाल्पाली राजा मणिमुकुन्द सेनको समयमा सुरु भएको यस परम्पराको इतिहास पाँच सय वर्षभन्दा पुरानो रहेको बताइन्छ । यद्यपि पाल्पामा लाखे नाच कहिलेदेखि सुरु भयो भन्ने यकिन इतिहास भने अहिलेसम्म भेटिएको छैन ।

किंवदन्तीअनुसार राजा मणिमुकुन्द सेनले राज्य विस्तारका क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको समृद्ध कला, संस्कृति तथा नेवार समुदायको काष्ठकला र मूर्तिकलाबाट प्रभावित हुनुभएको थियो । युद्धमा विजयी भएपछि उहाँले मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कला तथा संस्कृतिलाई पाल्पामा ल्याउनुभएको थियो ।

उहाँले काठमाडौँबाट काष्ठकलामा निपूर्ण नेवार कालीगढलाई समेत पाल्पामा ल्याई विभिन्न जात्रा र पर्वको प्रचलन सुरु गर्नुभएको बताइन्छ । तानसेन र भैरवस्थान क्षेत्रमा नेवार समुदायले गुठी स्थापना गरी सुरु गरेको लाखे नाच अहिले पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको छ ।

विशेषगरी नेवार समुदायको सांस्कृतिक महत्व बोकेको लाखे संस्कृति बुझेका अग्रज बुढापाका नहुनु, भएका पनि बसाइँ जानु र युवापुस्तामा चासो नहुनुले लाखे नाच ओझेलमा परेको तानसेनका राजेन्द्र गोपालसिंह बताउनुहुन्छ ।

“यसको जगेर्नाका लागि अग्रजको पथप्रदर्शन र अगुवाइ तथा पछिल्लो पुस्तामा संरक्षण र संवर्द्धन गर्ने कुरामा जागरुक हुन जरुरी देखिन्छ”, उहाँले भन्नुभयो ।

यहाँ श्रावण महिनाको घण्टाकर्ण चतुर्दशी अर्थात् गठेमङ्गलदेखि सुरु भई श्रीकृष्ण जन्माष्टमीसम्म देखाइने यो नाच नेवार समुदायमा अनिष्ट निवारणको प्रतीक मानिन्छ । तर, नयाँ पुस्ताले चासो नदिनु र नाच देखाउन आर्थिक अभाव हुनुका कारण यो संस्कृति विस्तारै हराउन थालेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं इतिहासका जानकार मदन देउराली बताउनुहुन्छ ।

“हाम्रा परम्पराको संरक्षण र संवर्द्धनमा सम्पूर्ण नेवार समुदायको महत्वपूर्ण भूमिका रहन्छ । संस्कृति जगेर्नाको आत्मानुभूति हुनुपर्‍यो । पश्चिमा शैलीका नाच र बाद्यवादनले मात्रै लाखे नाच हुँदैन”, देउरालीले भन्नुभयो, “परम्परा र संस्कृतिलाई पुस्तान्तरण गर्न सकिए, नेवारी संस्कारको संरक्षण र प्रवर्द्धन गर्न सकिएमात्रै लाखे संस्कृतिको अस्तित्वलाई सार्थकता दिन सकिन्छ ।”

नेपालका विभिन्न नेवार बस्तीमा प्रचलित लाखे नाचको आफ्नै सांस्कृतिक र धार्मिक महत्व छ । विशेषगरी गाईजात्रा तथा अन्य जात्रा-पर्वका अवसरमा लाखे नाच देखाइन्छ । लाखेलाई कतिपय समुदायमा रक्षकका रूपमा समेत लिइन्छ ।

जात्रा तथा पर्वका क्रममा लाखेको उपस्थितिले मनोरञ्जन मात्र प्रदान गर्दैन, समुदायको सामूहिक स्मृति र सांस्कृतिक पहिचानलाई पनि निरन्तरता दिन्छ । पहिले लाखे बन्ने कुरा सामान्य थिएन । नाचका चाल, ताल, अभिनय र अनुशासन सिक्नुपथ्र्यो । गुरु वा अग्रजबाट सिक्दै नयाँ पुस्ताले पुरानो पुस्ताको कला आत्मसात् गर्थ्यो ।

एक पुस्ताबाट अर्को पुस्तामा लाखे नाचको ज्ञान र सीप हस्तान्तरण हुँदै आए पनि अहिले त्यसो हुन सकेको छैन । समय फेरिएको छ । सहरको स्वरूप फेरिएको छ । मानिसको जीवनशैली, मनोरञ्जनका माध्यम र प्राथमिकता पनि बदलिएका छन् ।

पहिले जात्रा सुरु भएपछि घण्टौँसम्म लाखे नाच हेर्न मानिसहरू सडकमा जम्मा हुन्थे । अहिले धेरैको ध्यान केही सेकेन्डका भिडियो, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनमा केन्द्रित छ ।

नयाँ पुस्ता भन्छन्- समस्या अवसर र पहुँचको हो

लाखे नाच जोगाउने सबैभन्दा ठूलो चुनौती यसको पुस्तान्तरण हो । अग्रज पुस्ताले वर्षौँ लगाएर सिकेको नृत्य, चाल र अभिनय नयाँ पुस्तालाई सिकाउन चाहन्छ । तर, सिक्ने युवाको सङ्ख्या पर्याप्त नहुँदा पुरानो पुस्ता चिन्तित छ ।

तानसेनका ७५ वर्षीय मदन देउराली भन्नुहुन्छ, “हाम्रो संस्कृति हामी आफैँले जोगाउनुपर्छ, अब नयाँ पुस्ता आफैँ सिक्न अग्रसर हुनुपर्छ ।”

उहाँ नयाँ पुस्तालाई केवल लाखेको पोशाक लगाएर नाच्न मात्र नभई यसको इतिहास, संस्कार र सांस्कृतिक अर्थ बुझेर सहभागी हुन आग्रह गर्नुहुन्छ ।

नयाँ पुस्ताका युवाको दृष्टिकोण भने फरक छ । उनीहरू परम्प्रतिप्रति पूर्ण रूपमा उदासीन छैनन् तर समस्या अवसर र पहुँचको रहेको बताउँछन् । धेरै युवालाई लाखे नाच सिक्ने ठाउँ कहाँ छ, कसले सिकाउँछ र यसको अभ्यास कहिले हुन्छ भन्ने नै थाहा छैन ।

अर्कोतर्फ पढाइ, रोजगारी र अवसरको खोजीमा युवा आफ्नो मौलिक थातथलोबाट बाहिर जानुपर्ने बाध्यता हुँदा बाबुबाजेले निरन्तरता दिँदै आएको लाखे संस्कृतिलाई आफूहरूले आत्मसात् गर्न नसकेको तानसेन असनटोलका नयाँ पुस्ताका प्रेम श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “लाखे नाचका लागि आवश्यक पोशाक, मुकुट, बाजागाजा र अभ्यासमा समय तथा खर्च लाग्छ । नियमित अभ्यासका लागि समय निकाल्न पनि अहिलेको व्यस्त जीवनशैलीमा सहज छैन ।”

संस्कृतिलाई समयानुकूल बनाउने विषय पनि महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । नयाँ पुस्तालाई जोड्न सामाजिक सञ्जाल, भिडियो सामग्री, सांस्कृतिक कार्यशाला तथा विद्यालयस्तरका कार्यक्रम प्रभावकारी हुनुपर्ने श्रेष्ठको भनाइ छ ।

निरन्तरतामा ‘ब्रेक’

सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौँको ‘भाइ’ मानिँदै आएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वरस्थलका रूपमा पाल्पा परिचित छ ।

कत्युरीवंश, पालवंश, खसवंश, सेनवंश र शाहवंशले शासन गरेको पाल्पामा उनीहरूले अवलम्बन गरेको रीतिरिवाज, रहनसहन, कला तथा वास्तुकला आजसम्म पनि कहीँ न कतै जीवन्त छन् ।

विजय उत्सवका रूपमा मनाइने पाल्पाको प्रसिद्ध भगवती माईको रथयात्रा, प्रेमसँग जोडिएको लाखे नाच, कृषि संस्कृतिसँग सादृश्य राख्ने रोपाइँजात्रा, मृत्यु गणनासँग सम्बन्धित सापारु जात्रा र प्रकृतिसँग जोडिएको बाघजात्रा तानसेनका मुख्य जात्रा तथा पर्व हुन् ।

जात्राका माध्यमबाट आपसी भाइचारा, विश्वास, भ्रातृत्व, भगिनित्व र बन्धुत्वको भावना कायम रहन्छ । यसले पुस्तान्तरणलाई पनि जोडेर राख्छ । समुदायलाई एकताको बन्धनमा बाँधेर राख्ने यस्ता जात्रा, पर्व र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ताको आकर्षण भने बढ्न सकेको छैन ।

संस्कृति संवर्द्धनमा पुराना पुस्ता खटेर लाग्न नसक्ने र नयाँ पुस्ताले बेवास्ता गर्दा पछिल्लो समय जात्राको रौनक हराउँदै गएको हो ।

पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखे नाचको प्रचलन सुरु भए पनि बेलाबेलामा निरन्तरता पाउन नसकेको तानसेन बसपार्कका हास्य कलाकार किरण चित्रकार बताउनुहुन्छ ।

उहाँका अनुसार विसं २०१८ तिर पाल्पाको तानसेनमा स्वर्गीय लाले जोकर, स्वर्गीय प्राणप्रसाद उदय, स्वर्गीय ब्रमशेखर बज्राचार्य, स्वर्गीय चन्द्रमान श्रेष्ठ, स्वर्गीय बुद्धरत्न शाक्य, स्वर्गीय थापा काका, स्वर्गीय डण्डे बाहुन, स्वर्गीय युक्तलाल चित्रकार, स्वर्गीय बाबुराम सुवाल र स्वर्गीय रामबहादुर चौधरीलगायत कलाकारले लाखे निकाल्ने गरेका थिए ।

विसं २०२८ पछि देउराली परिवार, मित्रुसिंह हेमचुरीको समूह, टक्सारको मैत्री क्लब र बसपार्कको कल्याण कोष समितिले यो संस्कृतिलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।

सञ्चार र मनोरञ्जनका साधन प्रशस्त मात्रामा खुल्न थालेपछि लाखे नाचसहित यहाँका जात्रा विस्तारै हराउन थालेको उहाँको भनाइ छ । अर्कातिर नाच खर्चिलो भएकाले पनि प्रदर्शन कम भएको चित्रकार बताउनुहुन्छ ।

लामो समय निरन्तरता पाउन नसकेको लाखे नाचलाई विसं २०५२ देखि कल्याण कोष समिति (क्लब) ले संरक्षणमा केही चासो देखाएको थियो । तर, पछि स्थानीय सरकार र बजारका व्यापारीबाट आर्थिक सहयोग हुन छोडेपछि विस्तारै प्रदर्शन बन्द भयो ।

तानसेनको रणउजेश्वरी भगवती मन्दिरमा जागरामका दिन देखाइने लाखे नाच पनि आव २०६२/६३ मा देखाइएन । भगवती मन्दिरमा लाखे ननिकालेपछि यहाँका कलाकारले आफैँ भए पनि निकाल्ने अठोट गरी विसं २०६४ देखि लाखे निकाल्न थालेको चित्रकार बताउनुहुन्छ ।

लाखे जोगाउन कस्सिए तन्नेरी

पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको लाखे नाच जोगाउन पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवा अघि बढेका छन् । उनीहरूले विसं २०६४ देखि अहिलेसम्म जसोतसो लाखे नाचलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरूले हरेक वर्ष घण्टाकर्णदेखि भगवती जात्रा अर्थात् कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ लाखे नाच प्रदर्शन गर्ने गरेका छन् ।

समूहका अध्यक्ष किरण चित्रकारका अनुसार यस अभियानको उद्देश्य केवल नाच देखाउनु नभई नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो ।

“बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ”, चित्रकार भन्नुहुन्छ, “लाखे नाच विस्तारै लोप हुँदै जान थालेको छ ।”

नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायले त्यसको संरक्षण गर्न नसकेकामा चित्रकार चिन्तित हुनुहुन्छ ।

“अरू समुदायमाझ नेवारी संस्कृति एकदमै लोकप्रिय छ तर नेवार समुदायले नै संरक्षण गर्न सकिरहेका छैनौँ”, उहाँ भन्नुहुन्छ ।

लाखे नाचको आकर्षण यसको मुखौटा, वेषभूषा र बाजाको तालमा पनि छ । डरलाग्दो मुखौटाको आकर्षणले बालबालिकादेखि पाका पुस्तासम्मलाई लाखे नाच हेर्न आकर्षित गर्ने गरेको इतिहासका जानकार पुष्करराज रेग्मी बताउनुहुन्छ ।

बाजाको तालमा लाखेको हाउभाउ, ढोल र झ्याम्टाको ताल तथा आकर्षक वेषभूषासहितको नाचले सबैलाई आकर्षित गर्ने गरेको उहाँले बताउनुभयो ।

लोप हुन लागेको लाखे नाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायत स्थानमा हरेक साँझ ६ बजेदेखि करिब तीन घण्टासम्म लाखे नाच प्रदर्शन गर्दै आएको छ ।

काठमाडौँ उपत्यकामा प्रचलित परम्पराका रूपमा चिनिएको लाखे नाच पछिल्लो समय पाल्पासहित अन्य स्थानमा पनि विस्तार हुँदै गएको छ ।

तानसेनबाहेक नेवार बस्ती रहेका रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङमा समेत लाखे नाच नाच्ने परम्परा रहेको छ ।

लाखे नाच हराउनु भनेको एउटा नाच हराउनु मात्र होइन । यससँग जोडिएका सीप, कथा, सङ्गीत, सामुदायिक सम्बन्ध र सांस्कृतिक स्मृति पनि कमजोर हुनु हो । तसर्थ लाखे नाच संरक्षणका लागि सबैभन्दा पहिले यसको पुस्तान्तरण आवश्यक छ । स्थानीय समुदाय, सांस्कृतिक संस्था, विद्यालय र स्थानीय तहले युवालाई लक्षित गरेर नियमित प्रशिक्षण सञ्चालन गर्न सक्नुपर्छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update