RayNewsDaily
म्याग्दीमा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु, एक महिलाको सकुशल उद्धार
  • म्याग्दीको बेनीमा पहिरोले घर पुरिँदा ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु ।
  • धवलागिरिमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार ।
  • अविरल वर्षापछि अधिकांश ग्रामीण सडक अवरुद्ध, कालीगण्डकी करिडोर पनि प्रभावित ।

रे समाचार/गण्डकी । म्याग्दीमा गएराति आएको पहिरोमा परी एक वृद्धको मृत्यु भएको छ भने एक महिलाको सकुशल उद्धार गरिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेनी नगरपालिका-३ भकिम्लीको चिनाखेतमा पहिरोले घर पुरिँदा सुतिरहनुभएका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको हो ।

यस्तै, धवलागिरि गाउँपालिका-७ धारापानीस्थित हाडेभिरमा पहिरोमा पुरिनुभएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उहाँको उद्धार गरिएको हो ।

गएरातिको वर्षापछि सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा पहिरोका कारण पशुचौपाया र भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

पहिरोले कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकसमेत अवरुद्ध बनेको छ । सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहले सडक सञ्चालनमा ल्याउन अवरोध हटाउने काम गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update