RayNewsDaily
साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग    

काठमाडौँ । एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन सरोकारवालाले माग गरेका छन् ।     
     
साझा प्रकाशनले आज यहाँ ‘साझा प्रकाशनको आगामी गन्तव्य : चुनौती र अवसर’ विषयक आयोजना गरेको थियो । सो कार्यक्रममा साझा प्रकाशनले विगतमा विद्यालय र क्याम्पस तहका पाठ्यपुस्तक प्रकाशन र वितरणको भूमिका पाएकामा विसं २०७० मा उक्त अधिकार खोसिँदा संस्था धराशायी बनेको जानकारी गराइएको थियो । पुनः उक्त जिम्मेवारी प्राप्त गर्नुपर्नेमा सो संस्थामा कार्यरत अधिकारीले जोड दिएका थिए ।     
     
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले साझा प्रकाशनलाई चलायमान बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । संस्थाका शेयर सदस्यहरु विद्वान् भएपनि व्यवस्थापनमा कमजोरी भएर यस्तो अवस्था आएकाले यसलाई सुधार गर्नुपर्ने उहाँको धारणा थियो । सञ्चालक समितिलाई प्रभावकारी बनाएर सरकारले आवश्यक सहयोग गर्ने सचिव भुजेलले प्रतिबद्धता जनाउनुभयो ।     
     
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साझा संस्था कसैको पनि होइन भन्ने जस्तो नियति साझा प्रकाशनले भोगेको बताउनुभयो । साझामा भएका शेयर सदस्यको सूची हेर्दा व्यक्ति गतिला तर संस्था कमजोरको अवस्था देखिएको उहाँले बताउनुभयो । पहिले पाठक साझा खोज्दै आउने गरे पनि अब साझाले नै पाठक खोज्दै जानुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।     
     
मन्त्रालयले साझा प्रकाशनको विषयमा अध्ययन गरी नवप्रवर्तनात्मक कार्ययोजना बनाउन गठन गरेको कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले अध्ययनका क्रममा आय, व्ययमा असन्तुलन देखिएको जानकारी दिनुभयो । प्रकाशनका नाममा १० ठाउँमा जग्गा भएपनि व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । यन्त्रहरु आधुनिक युग सुहाउँदा नभएको, आवश्यकता अनुसारका जनशक्ति पनि नभएको र ५५ करोड रुपैयाँ ऋण सरकारलाई तिर्नुपर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।     
     
सरकारलाई तिर्नुपर्ने ऋण शेयरमा परिणत गरी रोक्का जग्गा फुक्का गरिदिएर विभिन्न १० स्थानमा रहेका जग्गामा व्यावसायिक भवन बनाएर साझा प्रकाशनका लागि आयको स्रोत जुटाउन सकिने सहसचिव रिजालको भनाइ छ । साझा प्रकाशनको ऐतिहासिकताको सम्मान गरेर पनि यी काम गर्नुपर्ने सुझाव कार्यदलको प्रतिवेदनमार्फत् दिइएको उहाँले बताउनुभयो ।     
     
प्रा डा दयाराम श्रेष्ठले साझालाई यस्तो अवस्थामा कसले पु¥यायो भन्ने विषयमा छानविन गर्नुपर्ने उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर पनि साझालाई प्रवर्द्धन गर्न सकिने भनाइ राख्नुभयो ।     
     
साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले साझा प्रकाशनलाई ऊर्जावान् बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न चाहेको उल्लेख गर्दै सातै प्रदेशमा संरचना बनाएर त्यहाँका साहित्यिक र सांस्कृतिक विषय प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।     
     
प्रकाशनका पूर्वमहाप्रबन्धक डा विष्णुविभु घिमिरेले विसं २०२८ मा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तकको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएपछि साझामा समस्या आउन थालेको बताउनुभयो । पहिले दार्जिलिङ र सिक्किममा पनि बिक्री वितरण केन्द्र रहेकामा अहिले हटाउन बाध्य हुनुपरेको उहाँले सुनाउनुभयो ।     
     
कार्यक्रममा सञ्चालकहरु वशिष्ठ अधिकारी, प्रा डा रमेशप्रसाद भट्टराई, जयन्ता पोखरल र साहित्यकार श्रीओम श्रेष्ठ रोदनलगायतले साझा प्रकाशनलाई यसको ऐतिहासिकताको पनि न्याय हुने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update