RayNewsDaily
मन्दिर निर्माण गर्न ‘विराट ज्ञानमहायज्ञ’मार्फत एक करोड  सङ्कलन

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ ।

    यही वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयव्यय सोमबार  सार्वजनिक गरिएको हो । ज्ञानमहायज्ञ मूल समारोह समितिका संयोजक सन्तोष कोइरालाका अनुसार सङ्कलित रकममध्ये रु २४ लाख ३८ हजार खर्च भएको छ । खर्च मुख्यतः व्यवस्थापन, धार्मिक अनुष्ठान सञ्चालन, अतिथि सत्कार, मञ्च व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा गरिएको छ ।

    कुल रकममध्ये दाताले कबोल गरेको थप रु २१ लाख ७६ हजार उठ्न बाँकी रहेको संयोजक कोइरालाले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार मन्दिर निर्माणका लागि अनुमानित कुल लागत रु एक करोड ८३ लाख रहेको छ । हालसम्मको सङ्कलनबाट करिब ४१ प्रतिशत रकम जुटाउन सफलता मिलेको छ । उहाँका अनुसार मन्दिर निर्माणका लागि सहयोग आउनेक्रम अझै जारी छ ।

    गाउँपालिका अध्यक्ष किरण राईले महायज्ञमार्फत प्राप्त सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्न विशेष ध्यान दिइएको बताउँदै दाताहरूले दिएको सहयोग रकम वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । “हामीले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौँ । जसले दातामा विश्वास बढाउनेछ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष राईका अनुसार पञ्चकन्या देवीसँग जोडिएको धार्मिक आस्था, स्थानीय इतिहास र सांस्कृतिक महत्वलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना अघि बढाइएको हो । भविष्यमा यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत लिइएको उहाँको भनाइ छ । निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुने छ । मन्दिरलाई परम्परागत पुरातात्विक शैलीमा निर्माण गरिनेछ भने छानो तामाको रहने छ ।  रासस 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update