भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रुपमा मानिँदै आएको नगरपालिका-४ स्थित विश्वसम्पदा सूर्चीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ः०० बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको बताउनुभयो ।
पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेको बताउनुभयो ।
धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित हुनुभएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनःजागा हुने भएकाले आजको दिनलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रुपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आर्शिवाद प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुुभयो ।
मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । मन्दिरमा सयपत्री फूलको मालाहरुले सिँगारिनुका साथै रात्रिककालीन प्रहरका लागि झिलीमिली बत्तीले निकै रौनक दिएको उहाँले बताउनुभयो । उहाँले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँच वटा नाकाबाट मन्दिर आउनसक्ने गरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाभित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, चाँगुनारायण मन्दिरका प्रचारप्रसार गरी विश्वभर यसको महत्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ, चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।”
चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरिएको छ । उहाँले मन्दिरमा लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ः०० बजेदेखि नै नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको बताउनुभयो ।
आजका दिनमा चार नारायणको दर्शन गरेमा पूण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाण्डूको शेषनारायण, इचङ्गकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने परम्परा रहेको छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने परम्परा रहेको छ । आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने चलन छ । रासस
