माघ महिनाभर रुरु महास्नान, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको तयारी
  • माघ महिनाभर रुरु महास्नान सञ्चालन गर्ने तयारी तीव्र ।
  • कालीगण्डकीको धार्मिक महिमा र रुरुक्षेत्रको पहिचान अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने लक्ष्य ।
  • चार धामलाई जोडेर धार्मिक तीर्थाटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने योजना ।

जनार्दन घिमिरे/गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ ।

कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो ।

माघ महिनालाई नै ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक-सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँच दिन माघी मेला लाग्दै आएको रिडीमा अब माघ महिनाभर नै श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ ।

महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ । यसै क्रममा प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ । बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले गाउँपालिका निरन्तर प्रचारप्रसार र तयारीमा जुटेको बताउनुभयो । महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले मन्त्रालयसँग आवश्यक सहयोग र सहजीकरणका लागि आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ । नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने तथा रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

रुरुक्षेत्रको धार्मिक महत्त्व कालीगण्डकी नदीसँग पनि जोडिएको छ । हिन्दू धर्मावलम्बीका लागि पवित्र मानिने कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा छ । शालिग्रामको धार्मिक महत्त्वका कारण कालीगण्डकी र रुरुक्षेत्र नेपाल तथा भारतबाट आउने श्रद्धालुका लागि आस्थाको केन्द्र बनेको छ ।

कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजा गर्न वर्षैभरि श्रद्धालु रिडी आउने गरेका छन् । माघमा यहाँ स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण माघे सङ्क्रान्ति तथा माघ महिनामा विशेष भीड लाग्ने गरेको छ । सोही धार्मिक आस्थालाई व्यापक बनाउँदै माघ महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुले बताउनुभयो ।

रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो । पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश-भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायत धार्मिक स्थलले यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गरेका छन् ।

धार्मिक सम्पदासँगै पछिल्लो समय रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन् । भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रमा निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल यहाँको अर्को प्रमुख पर्यटकीय आकर्षण बनेको छ । कालीगण्डकी नदीमाथि निर्माण भएको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ ।

तीन जिल्लाको सङ्गममा रहेको पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन् । कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ ।

महास्नानलाई व्यवस्थित बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकार भएका निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि छलफल अघि बढाएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । यसबाट चार धामबीच धार्मिक सम्बन्ध विस्तार हुनुका साथै तीर्थयात्रीको आवागमन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।

माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजासामग्री र अन्य व्यापारिक गतिविधिसमेत बढ्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।

महास्नानको तयारीसँगै गाउँपालिकाले कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ । महास्नानको राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रचारप्रसार र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयसँग तथा कालीगण्डकी जलविद्युत् परियोजनाका कर्मचारीसँगको सम्झौताअनुसार आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग समेत महत्त्वपूर्ण छलफल गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’ मार्फत धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र पर्यटन विकासलाई एकसाथ अघि बढाउने लक्ष्य गाउँपालिकाले राखेको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update