काठमाण्डू । भव्य र अलौकिक सांस्कृतिक झाँकीका साथ छैटौं एसियन ‘बिच गेम्स’ चीनको हाइनान प्रान्तस्थित समुद्री तटवर्ती सहर सान्यामा सुरु भएको छ। बुधबार राति आकाशमुनि आतिसबाजी तथा सांस्कृतिक प्रस्तुतिसहित एसियाली समुद्री तटकेन्द्रित खेलकुदको शुभारम्भ गरिएको कान्तिपुरले लेखेको छ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का सबै ४५ सदस्य देशहरू र क्षेत्रका खेल प्रतिनिधिहरूको उपस्थितिमा एसियाली बिच खेल महाकुम्भ सुरू गरिएको थियो। विभिन्न एसियाली मुलुकसँगै नेपालको झण्डा उक्त रंगशालामा फहराइएको थियो।
उद्घाटन समारोहमा चिनियाँ राज्य परिषद् सदस्य छन यिछिन, सान्या एसियाली बिच गेम्स आयोजक समितिका अध्यक्ष तथा हाइनान प्रान्तका गभर्नर लिउ सियाओमिङ र ओसीएका अध्यक्ष राजकुमार गेब्रियल लगायतले सम्बोधन गरेका थिए।
चीनले हाइनान प्रान्तलाई फ्री ट्रेड पोर्टमा परिणत गरेयता आयोजित पहिलो बृहत् अन्तर्राष्ट्रिय खेलकुद भएकाले निकै महत्व दिएको छ। १४ खेलकुद र ६२ इभेन्टमा १६०० भन्दा बढी खेलाडीहरूले भाग लिने कार्यक्रम छ।
नेपालले बिहीबार नै महिला कबड्डीमा प्रतिस्पर्धा गर्दैछ। पहिलो खेल भारत र श्रीलंका, दोस्रो खेल थाइल्याण्ड र बंगलादेश तथा तेस्रो खेल नेपाल र चाइनिज ताइपेइबीच हुनेछ।
चिनियाँ मेनल्याण्डले भने कबड्डीमा भाग लिएको छैन। नेपाली टिमकी कप्तान मानमती विष्टले आफूले गरेको मेहनत बमोजिम कुनै न कुनै उपलब्धि हासिल गर्ने अपेक्षा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हाम्रो लागि बलियो प्रतिस्पर्धी भनेको चाइनिज ताइपेई हो, त्यसबाहेक अन्य खेलमा राम्रो प्रदर्शन गर्ने अठोटका साथ मैदानमा उत्रिँदैछौँ।’ सजीटिएन नेपाली
