RayNewsDaily
भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश   

धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ ।    
    
 शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेसियाले चित्लाङ फुटबल क्लब काठमाण्डूलाई ट्राइबेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।    
    
 खेलको पहिलो हाफको ४१औँ मिनेटमा चित्लाङ फुटबल क्लब काठमाण्डूका खेलाडी मिलन पिटरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १५औँ मिनेटमा आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।    
    
 निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । आरटी एफसी मलेसियाको तर्फबाट खेलाडी युमी, फोफोना, पेमा तामाङ र देवेन्द्र तामाङले गोल गरेका थिए भने चित्लाङ फुटबल क्लबबाट पीतर, जेन जिदे र मदन स्याङत्नले गोल गरेका थिए ।    
    
 शनिबारको खेलमा ‘म्यान अफ द म्याच’ आरटी एफसी मलेसियाका खेलाडी देवेन्द्र तामाङ घोषित भएका छन् । आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीका अनुसार तामाङलाई नगद रु पाँच पुरस्कार प्रदान गरिएको छ ।    
    
 उपाधिका लागि भोलि पथरी–११ फुटबल क्लब मोरङ र आरटी एफसी मलेसियाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु दुई लाखसहित ट्रफी हात पार्नेछन् । रासस     

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update