कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दैछन् ।
जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन । जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोराउने लक्ष्यमा छ । वि.सं. २०७० मा पहिलोपटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदैछ ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।
सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेशलन फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
गत माघ २७ गतेदेखि सुरु भएको २५ औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन् । रासस
