श्याम राना मगर/काठमाडौं । नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र बलिदानको स्मरणमा प्रथम शहीद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता-२०८२ को आयोजना गरिने भएको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम शहीद लखन थापा मगरको १४९ औं स्मृति दिवसको अवसरमा यही फागुन २ गते शनिबार, शहिद गेट, काठमाडौँबाट बूढानीलकण्ठसम्म १० किलोमिटरको दौड प्रतियोगिता हुन लागेको आयोजकले जानकारी गराएको छ ।
प्रथम शहीद लखन थापा मगरको बलिदानीको सम्मान गर्दै उहाँको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार साथै युवापुस्तामा स्वास्थ्य, खेलकुद, संस्कृति र राष्ट्रिय इतिहास प्रतिको जागरण र गौरव फैलाउने उद्देश्यले नेपाली कल्चर मिडिया प्रा.लि.को आयोजना, नेपाल मगर संघ, केन्द्रीय समितिको संरक्षकत्व साथै प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा उक्त दौड प्रतियोगिता हुुन लागेको दौड प्रतियोगिता संयोजन संस्था प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन आले मगरले जानकारी दिनुभयो ।
दौड प्रतियोगिता संयोजन संस्था प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष जीवन आले मगर
शहीद गेटबाट बिहान ६ बजे सुरु हुने दौड प्रतियोगितामा महिला तथा पुरुष विधामा छुट्टाछुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको कार्यक्रमका संयोजक तथा नेपाल मगर संघका उपाध्यक्ष रैक्षा रैका मगरले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुनेले महिला तथा पुरुष छुट्टा छुट्टै विद्यामा समान पुरस्कार रु. ३५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीय पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु. १५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना हुनेलाई रु ५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै दौड प्रतियोगिता पूरा गर्नेलाई मेडल तथा प्रमाणपत्र साथै, दौडमा सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिने संयोजक रैका मगरले जानकारी दिनुभयो ।
प्रथम शहीद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिताका संयोजक रक्षा बहादुर रैका मगर
दौडमा सहभागी हुनका लागि प्रवेश शुल्क रु. ५ सय लाग्ने र सबै सहभागी धावकहरुलाई आयोजकद्वारा टिसर्ट प्रदान गरिने जनाइएको छ । खेलकुदप्रेमी, स्वास्थ्यप्रति सचेत नागरिक तथा प्रथम शहिद लखन थापा मगर साथै सम्पुर्ण सहिदहरु प्रति सम्मान र श्रद्धा राख्ने सम्पूर्ण महानुभावहरूलाई उक्त स्मृति दौड प्रतियोगितामा सक्रिय सहभागिता सहित ऐक्यबद्धता समेत जनाइदिनका लागि अपिल समेत गरिएको छ ।
शनिबार, बिहान ६ः०० बजे सहिद गेट भद्रकाली देखि सुरु भएको दौड जमल, लैनचौर, नारायण गोपाल चोक, गोल्फुटार, बूढानीलकण्ठ, चपलीघुम्तीबाट देब्रे मोडेर तल्लो पासीकोट श्रीराम स्कुल हुदै नेपाली कल्चर मिडिया हाउस सम्म हुने छ ।
दौड समापनपछि नेपाली कल्चर मिडिया प्रा.लि., बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटमा पुरस्कार वितरण, प्रथम शहीद लखन थापा मगर स्मृति समारोह तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको जानकारी गराइएको छ । उक्त कार्यक्रममा सिन्धुली कलाघरका कलाकार सहित राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको समेत प्रस्तुति हुने जनाइएको छ ।

दौड प्रतियोगितामा नेपालको खेल इतिहासका प्रतिष्ठित (म्याराथन) धावक दक्षिण एशियाली खेलकुद साफमा लगातार ४ पटक स्वर्ण पदक विजेता र एसियाली खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली एथलेट मध्येका एक वैकुण्ठ मानन्धर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त धावकहरुको समेत उपस्थिति रहनेछ ।
पत्रकार सम्मेलनमा फागुन १३ गते दिउँसो १ बजे राष्ट्रिय नाचघरमा लखन स्मृति सांगितिक साँझको समेत आयोजना गरिएको जानकारी गराइएको छ । उक्त सांस्कृतिक कार्यक्रमबाट उठेको सहयोगले प्रथम सहिद लखन थापा मगर स्मृति भवन निमार्णमा योगदान पु¥याउने संयोजक रैका मगरले बताउनुभएको छ ।
