RayNewsDaily
हाफ म्याराथनको उपाधि गुरुङलाई    

दमौली (तनहुँ) । व्यास नगरपालिका-६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा-गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जित्नुभएको छ । चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास-६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम हुनुभएको हो ।     
     
म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय हुनुभएको छ । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिनुभयो ।     
     
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उहाँले जानकारी दिनुभयो । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।     
     
उहाँले भन्नुभयो, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्र्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राख्नुभयो ।     
     
व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय हिसावले विकास गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यसले भोलिका दिनमा व्यास–६ लाई अगाडि बढाउन सहयोग पुग्नेछ । यसलाई पर्यटकीय हिसावले विकास गर्न सकिए स्थानीयको आर्थिक सवलीकरणमा टेवा पुग्नेछ ।”     
     
यसैबीच क्लबले भोलिदेखि वडा स्तरीय भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ । भलिबल प्रतियोगितामा विजेतालाई रु ४० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई रु २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै सेमिफाइनल पुग्ने दुई टोलीलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।     
     
गलेखामकोट समुन्द्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ । पृथ्वीराजमार्ग अन्तर्गत कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ पर्यटकीय स्थल गलेखामकोट-कन्टारदेखि साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।     
     
आधाजसो पक्की र आधाजसो कच्ची सडक हुँदै पुगिने यस ठाउँमा सडकको असुविधाका कारण पर्यटक कम पुग्ने गरेका छन् । कुनै बेला मगर राजाले समेत राज्य गरेको यस ठाउँ ओझेलमा परेपछि स्थानीयवासी यसको प्रवद्र्धनमा जुटिरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।     
     
यहाँबाट सदरमुकामको दमौली, शुक्लागण्डकी नगरपाकिालस्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुइपिप्ले, कास्कीको फेवाताल, बेगनास ताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।     
     
गलेखामकोटमा नेवार समूदायको बाहुल्यता छ । गलेखामकोटमा भ्युटावर समेत बनेको छ । यहाँ विसं २०७६ सालमा रु १६ लाख ५० हजारको लागतमा भ्युटावर निर्माण गरिएको थियो । तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, मनास्लु लगायतका हिमश्रृङ्खला देख्न सकिन्छ ।     
     
गलेखामकोट बाइसे चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दै आएका छन् । रासस

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update