RayNewsDaily
खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु        
सांकेतिक तस्वीर ।

चन्द्रपुर(रौतहट)  । रौतहटमा पानी भरिएको खाल्टोमा डुबेर आज बिहान तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका-८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो ।     
     
मृत्यु हुनेमा राजदेवी नपा-८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो ।     
     
घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका-१ कानुपट्टिस्थित भित्री सडक खण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरीक्षक महतोले जानकारी दिनुभयो । आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए । जसमध्ये चार जना सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले जानकारी दिनुभयो ।     
     
सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको उहाँले जानकारी दिनुभयो ।     
     
बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उहाँले बताउनुभयो ।     
     
उद्धारपछि बालिकाहरूको उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकाकलाई मृत घोषणा गरेको महतोले जानकारी दिनुभयो । केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update