
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा आज ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
“संविधान निर्माणपछि हामी कानुन निर्माणको चरणमा छौँ, जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सवलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो । “सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणमा अवरोध देखिएका कानुनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।
ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारद्वारा निर्मित कानुनबीच तालमेल हुनु जरुरी रहेको बताउनुभयो । उहाँले जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानुनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएका स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्न चाहेको उहाँको भनाइ छ ।
ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । सरकारले नीतिगत सुधार गदैृ प्रभावकारी काम गरिरहेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गर्नुभयो । “लगानी सम्मेलन लगानीमा मात्र केन्द्रित नभई मुलुकलाई केही दिन सकिन्छ की भनेर लागिरहेका छौँ, प्रदेशको विकास र रोजगारी प्रदान गर्ने बाटोमा हामी इमान्दारपूर्वक लागिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
धनगढीको सिटी हलमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण्, लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता गरिने कार्यक्रम छ । सुदूरपश्चिम प्रदेशमा हाल आठ हजार २४१ मेगावाटका १०८ जलविद्युत् आयोजना कुनै न कुनै रूपले अगाडि बढिरहेका विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले जानकारी दिनुभयो ।
छलफलमा सुदूरपश्चिम प्रदेशमा ऊर्जा क्षेत्रको विकास गरिरहेका कम्पनीहरूले ऊर्जा क्षेत्रको विकासमा भोग्नुपरेका प्रसारण लाइन, जग्गा प्राप्ति, वनलगायत समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस