
रे समाचार/काठमाडौं । हिजो उच्च अंकले वृद्धि भएको शेयर बजार मापक नेप्से परिसूचकमा आज उच्च अंकले नै गिरावट आएको छ । आज नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेको छ । नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ६८ करोड ३३ लाख बराबरको शेयर किनबेच भएकोमा आज ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।
आज पनि विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मैलुङखोला जलविद्युत् कम्पनी, थ्रीस्टार हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र पिपुल्स पावर लिमिटेडको शेयर ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ओरियन्टल होटल्स लिमिटेड र लुम्बिनी विकास बैंकको शेयर भने आज सर्वाधिक ४ प्रतिशतभन्दा बढीले द्दटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिस्ट्रिलरीको कारोबार रकम ३५ करोड ४ लाख नाघेको छ । नेप्सेमा सूचिकृत १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको शेयर वृद्धि भएको छ भने बाँकी सबै उपसमूहको शेयरमा गिरावट आएको छ ।