
रे समाचार/काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।
महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुर्याएको साथ र सहयोगका लागि धन्यवाद दिनुभयो । सो अवसरमा उहाँले यो वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्र आयोजना भइरहेको उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले सम्बन्धमा थप बल पुगेको धारणा राख्नुभयो ।
गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल-चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थित रुपमा राखेको, दुई पटक गरेर ३७४ जना नेपालीलाई नेपाल पठाउन मद्दत पु¥याएको, सो स्थानमा फलामे पुल निर्माण गरिरहेकोमा धन्यवाद दिंदै महावाणिज्यदूत निरौलाले पुल निर्माणमा तीब्रता प्रदान गर्न, सम्भव भएसम्म त्यहाँ ह्युम पाइप राखेर अस्थायी व्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँले हालै चीन र भारतबीच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको एवं नेपाल र चीन दुवै राष्ट्रले हालसम्म एक आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रक्ष्यमा सोही अनुसार व्यवस्थापनका लागि अनुरोध समेत गर्नुभएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले एक विज्ञप्ति मार्फत जनाएको छ ।
उक्त अवसरमा महानिर्देशक तिङले नेपाल चीनबीचको आपसी मैत्री सम्बन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरूमा महावाणिज्यदूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो भने रसुवा नाका व्यवस्थापनका कार्यमा तीव्रता दिइएको जानकारी दिनुभयो । उहाँले नेपाल र चीनबीच हुने वाणिज्य व्यापारको मुख्य आधारका रुपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथाङ्का नाका सञ्चालन गर्न चीन सरकार तत्पर रहेको बताउँदै यसका लागि संयुक्त प्रयास जरुरी भएको उल्लेख गर्नुभयो । यसका साथै सो अवसरमा उहाँले दुई देश र नागरिकहरूको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।