- सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामै सकियो ।
- २२९ पदका लागि झण्डै एक लाख ६२ हजार मतपत्र गणना ।
- निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ दसैँलगत्तै हुने ।
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि असोज २३ गते रातिदेखि सुरु भएको मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सबै पदको मतगणना सकिएको उहाँले बताउनुभयो । लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको थियो ।
त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको थियो । अहिले सबै मतपरिणाम रुजु गर्ने काम भइरहेको र केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको कटुवालले जानकारी दिनुभयो । अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो ।
मतगणना झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहानै सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बिपीनगर, सानेपामा गरिएको थियो ।
१४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामै सकिएको कटुवालले बताउनुभयो ।
उहाँका अनुसार गणना सुरु भएकै दिनदेखि दिन र रातमा गरी झण्डै २५ समूह बनाएर मतगणना गरिएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सिर्जना नभएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो ।
यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो । कुल २२९ पदका लागि भएको निर्वाचनमा प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम दसैँलगत्तै गरिने जानकारी दिइएको छ । रासस
