- एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाए ।
- संसदीय दलको निर्देशनअनुसार मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
- सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लियो ।
जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले राजीनामा दिनुभएको छ ।
एमाले संसदीय दलको निर्देशनअनुसार श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिनुभएको हो ।
चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा पत्र बुझाउनुभएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिनुभयो ।
मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन सरकार छ ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ । रासस
