RayNewsDaily
राज्य व्यवस्था समिति सभापतिमा न्यौपाने सर्वसम्मत   

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।     
     
उहाँको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ । न्यौपाने पनि सोही समितिकी सदस्य हुनुहुन्छ ।     
     
आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराउनुभएको हो ।     
     
सभापतिमा उहाँको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्ताैला समेत जानुभएको थियो ।     
     
समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उहाँ निर्विरोध भएको घोषणा गरिने छ ।     
     
नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि उहाँ दुवै संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पार्टीमा महिला विभाग प्रमुख भइ जिम्मेवारी सम्हाल्नुभएको अनुभव पनि उहाँसँग छ ।     
     
संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहनुभएकी नेतृ न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिनुभएको थियो ।     
     
पार्टीको आजै बसेको पदाधिकारी बैठकले उहाँलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो पदका लागि बुधबार निर्वाचन हुँदैछ । कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।     
     
उम्मेद्वारी दिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ न्यौपानेले संवेदनशील र महत्वपूर्ण विधेयकबारे निर्णय गर्न पर्ने राज्य व्यवस्था तथा सुृशासन समिति सभापतिको प्राप्त जिम्मेवारी पुरा गर्न सबैलाई साथ र सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।     
     
उहाँले भन्नुभयो, “जहाँ बसेर काम गर्न चुनौती हुन्छ, त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ । वातावरण बनाएर जिम्मेवारी पुरा गर्नुपर्छ ।”  रासस

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update