रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज वृद्धि भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक २१.३० अंक बढेर २७६१.२६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । नारायणी डेभलपमेन्ट बैंकको आज शतप्रतिशत हकप्रद शेयर समायोजन भएको थियो । यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आरबिबि म्युच्युअल फन्ड, सिकलेस हाइड्रोपावर र सिवाइसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज सर्वाधिक ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७६ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।