
रे समाचार/काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ । काठमाडौँको थापागाउँमा कार्यालय उद्घाटन गरिएको हो । सो समारोहलाई सम्बोधन गर्दै भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याउनु भयो ।
जनताको समस्या समाधान गर्ने थलो संसद् नै निरीह बनेर बसिरहेको आरोप उहाँले लगाउनु भयो । '‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन । कुनै व्यक्तिलाई आरोप लाग्ने बित्तिकै निलम्बित भइहाल्छ बोल्न पाउँदैनन् । आरोप पुष्टि भएको छैन । यही हो न्याय ?’' भण्डारीले प्रश्न गर्नुभयो ।
कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो भन्दै उहाँले प्रश्न उठाउनु भयो जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क उहाँले गर्नुभयो ।
सोही कार्यक्रमलाई संवोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउने क्रममा कामलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय खोलेको बताउनु भयो । ‘जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भन्नुभयो ।
आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो । ‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भन्नुभयो ।
एमालेमा समानान्तर कमिटी बनाएर अघि बढ्ने संकेत गर्नुभएको विद्या भण्डारीको यो सम्पर्क कार्यालयको रुपमा हेरिएको छ । उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुग्नुभएको थियो ।
व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौँका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, पत्रकारका नेता राजेश राई, युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतलगायत देखिनुभएको थियो ।