
रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.१६ अंकले वृद्धि भई २७७०.३९ विन्दुमा पुगेको छ । नेप्से सकारात्मक भए पनि कारोबार रकममा भने आज गिरावट आएको छ । हिजो ७ अर्ब ७३ करोड ५१ लाख बराबरको शेयर किनबेच भएकोमा आज ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।
आज युनियन हाइड्रोपावरको शेयर सर्वाधिक ६.१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी अप्पर स्याङ्गे हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । दोर्दी खोला जलविद्युत् कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर आज पनि सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलेपमेन्ट कम्पनीको शेयर १८ करोड ७५ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज म्युच्युअल फन्ड र अन्य उपसमूहको शेयर बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।