
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २७.१४ अंकको गिरावट आई २७६१.२२ विन्दुमा झरेको छ ।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
आज आरबिबि म्युच्युअल फन्ड १ को शेयर सर्वाधिक ७.९३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर ६.२९ प्रतिशतले वृद्धि भएको छ भने कालिका पावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर भने आज सर्वाधिक ७ प्रतिशतले र ट्रेड टावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्युरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३५ करोड ४५ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर २४ करोड ९६ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज म्युच्युअल फन्ड उपसमूहको शेयर बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।