RayNewsDaily
प्रधानमन्त्रीद्वारा तुर्किमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो      

प्रकाश सिलवाल/तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।     
     
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गर्नुभएको हो ।     
     
भेटपछि दुवै मुलुकका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय हित, चोसो, सहयोग र सहकार्यसहित दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ र उपलब्धिमूलक बनाउनलगायतका विषयमा छलफल भएको बताउनुभयो ।     
     
सो अवसरमा उहाँले छोटो समयावधिमा तुर्कमेनिस्ताले गरेको विकासको प्रशंसा गर्दै नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने जानकारी गराउनुभएको थियो ।     
     
प्रधानमन्त्री ओलीले आवाजा सहरमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको भव्य आयोजनाका लागि राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीको आजै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ ।     
     
हरेक १० वर्षमा हुने सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटसहित विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update