
रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा आज १.९४ अंकको गिरावट आई नेप्से परिसूचक २८३२.०६ विन्दुमा पुगेको छ ।
नेप्सेमा सामान्य गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपियाँको बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ । थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आव ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक आज सर्वाधिक १.३४ प्रतिशतले वृद्धि भएको छ ।