
रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४१.७८ अंक घटेर २८३३.५७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो करिब ११ अर्बको शेयर कारोबार भएकोमा आज ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ट्रेड टावरको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ ।