
रे समाचार/काठमाडौं । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार आज भने वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १६.६५ अंक बढेर २८७५.५५ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १३ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७३ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ । पछिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको ट्रेड टावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ११४ रुपैयाँ ८० पैसा घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको साढे ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे ३७ करोड नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक २.९० प्रतिशतले वृद्धि भएको छ ।