
रे समाचार/काठमाण्डू । आजदेखि नेपाल र उत्तरी छिमेकी चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षमा प्रवेश गरेको छ । सो अवसरमा नेपाल र चीनको राजधानी पैचिङमा आज विविध कार्यक्रमहरु आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव भव्य रुपमा मनाइँदै छ । नेपालस्थित चिनियाँ राजदूतावासले आज साँझ काठमाण्डूको होटल याक एण्ड यतिमा भव्य समारोहको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । त्यसैगरी चीनको राजधानी पैचिङमा रहेको नेपाली दूतावासले पनि विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको दुई देशबीचको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा नयाँ चीनको स्थापना भएपछि आज कै दिन अर्थात् १ अगष्ट १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता, सम्प्रभूताको सम्मान र अहस्तक्षेपलगायत पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई दुवै मुलुकले उच्च प्राथमिकता दिएका तथा यसलाई अझ सुदृढ तुल्याउन दुवै देशका शीर्ष नेतृत्व क्रियाशील रहेका चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले बताउनुभयो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको, विधिमा आधारित प्रभावकारी विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्तिसुरक्षा, साझा भविष्य निर्माणका निम्ति सहकार्य र साझेदारीमा जोड दिएको उहाँ बताउनुहुन्छ । विश्वशक्ति राष्ट्र बनेको चीनले हासिल गरेको विकासबाट अधिकभन्दा अधिक लाभ लिएर मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनुपर्ने पूर्वराजदूत आचार्यको सझाव छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली नेपालका लागि चीनका राजदूत छन सोङले आज साँझ आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको सत्तरी वर्षको अवधिमा सरकारी स्तरमा मात्र नभएर जनस्तरमा पनि सम्बन्ध प्रगाढ हुँदै गएको विज्ञहरुको भनाइ छ ।