
रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । हिजो उच्च वृद्धि भएर ३ हजार विन्दुमाथि बन्द भएको शेयर बजार मापक नेप्से आज पुनः ३ हजार विन्दुभन्दा तल झरेको छ ।
आज नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो साढे १८ अर्बको शेयर खरिदबिक्री भएकोमा आज १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सान्भी इनर्जी र ट्रेड टावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सान्भी इनर्जीको शेयर निरन्तर नवौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने ट्रेड टावरको शेयर निरन्तर दशौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्ट्रिलरीको ७३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम ५७ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।