RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज छैटौं दिन पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुगेको छ ।

नेप्सेमा सामान्य वृद्धि भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो २० अर्ब ८ करोड ५३ लाखको शेयर खरिदबिक्री भएकोमा आज १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपियाँको शेयर कारोबार भएको छ । आज पनि तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर, ग्रिन भेन्चर लिमिटेड र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, लिबर्टी इनर्जी कम्पनीको ७ प्रतिशतभन्दा बढी र बेष्ट फाइनान्स कम्पनीको ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भूगोल इनर्जी कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ५ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको साढे ७५ करोड २९ लाखभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६२ करोड ३३ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ६२ करोड २५ लाखको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको शेयर घटेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update