रे समाचार/काठमाडौं । पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको शेयर बजार आज पनि उच्च अंकले वृद्धि भएको छ । यर बजार मापक नेप्से परिसूचक आज ८०.९७ अंक बढेर २९७३.७० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो १६ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएकोमा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पनि तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर, शिवम् सिमेन्ट्स र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको साढे ६८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ५६ करोड नाघेको छ । आज पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशतले वृद्धि भएको छ ।