RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने घट्यो     

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २१.७६ अंकले वृद्धि भई २८९२.७२ विन्दुमा पुगेको छ । पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । कारोबारका क्रममा २९ सयको विन्दु पार गरे पनि सो विन्दुमा टिक्न भने सकेन । हिजो पनि नेप्से सोही मनोवैज्ञानिक विन्दु पार गरेर फर्किएको थियो ।

नेप्से वृद्धि  भए पनि आज कारोबार रकम भने घटेको छ । हिजो २१ अर्ब ४६ करोडको शेयर कारोबार भएकोमा आज १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ । 

आज थ्री स्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र उन्नति सहकार्य लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी फस्ट माइक्रोफाइनान्सको ८ प्रतिशतभन्दा बढी र आरएसडिसी लघुवित्तको ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ग्रिन डेभलेपमेन्ट बैंक र सप्तकोसी डेभलेपमेन्ट बैंकको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्युरेन्स लिमिटेड नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोड ६६ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको  ७५ करोड २८ लाखको शेयर कारोबार भएको छ भने बुटवल पावर  कम्पनीको ५६ करोड ७९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । यसैगरी फस्ट माइक्रोफाइनान्सको ५१ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ भने लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख बराबरको शेयर किनबेच भएको छ । आज नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update