रे समाचार/काठमाडौं । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा समारोहको आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।
समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्नुभएको थियो । एकता घोषणापछि माधव नेपाल र वामदेव गौतम अँगालोमा बेरिनुभएको थियो ।

पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको गौतमले बताउनु भयो । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताउनुभयो । उहाँले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले आफ्नो पार्टीलाई सिद्ध्याउने षड्यन्त्रमा रहेकाले सो पार्टीसँग एकताको कुनै सम्भावना नभएको बताउनु भयो । उहाँले एमालेसँग एकता हुन्छ भन्ने भ्रम नपाल्न नेता-कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । ‘एमालेसँग एकताको कुनै सम्भावना छैन । अहिलेको विन्दुमा उभिएर भन्दाखेरि एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँभित्रको अवस्था हामीले देखिराखेका छौँ ।’
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताउनुभयो । ‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैं बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ’, नेता खनालले भन्नुभयो ।
एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारणले टिक्न नसकेको खनालले बताउनुभयो । नेकपा एकताबद्ध हुँदा दुई तिहाइ मत प्राप्त गरेको भएपनि देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भएको आरोप उहाँले लगाउनुभयो ।
