रे समाचार/काठमाडौं । नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ ।
नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । हिजो १४ अर्ब ३ करोड ४८ लाखको शेयर किनबेच भएकोमा आज १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपियाँको शेयर कारोबार भएको छ । आजको कारोबार रकम करिब ११ महिनायताकै उच्च हो । यसअघि गत भदौ ११ गते साढे १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यसपछि आजको कारोबार रकम नै उच्च हो ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ट्रेड टावर, शुभम् पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर कम्पनीको नेप्सेमा सूचीकृत भएपछि आज पहिलो कारोबार भएको हो । यसैगरी आज इष्टर्न हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयर पनि करिब सकारात्मक सर्किट लेभलमै कारोबार भएको छ । नेपाल रिइन्स्युरेन्स लिमिटेडको शेयर ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआइबिएल इक्वीटी फन्डको शेयर सर्वाधिक ७ प्रतिशतभन्दा बढी र एनआइसी एसिया फ्लेसी फन्डको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्युरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८४ करोड ४२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । बुटवल पावर कम्पनीको ६० करोड ६८ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ५६ करोड ७४ लाख रुपियाँको शेयर किनबेच भएको छ । यसैगरी सानिमा माई हाइड्रोपावरको ४२ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको शेयरमूल्य वृद्धि भएको छ ।