RayNewsDaily
असोज ३ गतेभित्र एनटिभी वर्ल्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह        

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।     
     
सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटिभी वर्ल्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो । मन्त्री गुरुङले एनटिभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताउनुभएको हो ।     
     
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वर्ल्डका कार्यक्रमहरु प्रस्तुत गर्न सुझाव दिनुभयो । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गर्नुभयो ।     
     
पिएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटिभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उहाँले जानकारी दिनुभयो । सीमित स्रोत र साधनका बीच एनटिभी वर्ल्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उहाँको प्रतिबद्धता छ ।     
     
कार्यक्रममा डा. टङ्क उप्रेतीले एनटिभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुतिमा एनटिभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो । रासस

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update