RayNewsDaily
शेयर बजारमा उत्साहजनक वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । गत साताको बुधबारदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २९ अंक बढेर २७६०.८० विन्दुमा बन्द भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ९ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ९.९३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको करिब ३३ करोडको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २८ करोड नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update