
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । हिजो बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक २५.८० अंक बढेर २७३१.८० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज माई खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशतले बढेको छ । यसैगरी माण्डु हाइड्रोपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको साढे ३२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा बैंकको करिब साढे २६ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक आज सर्वाधिक ३.०२ प्रतिशतले वृद्धि भएको छ ।