
रे समाचार/काठमाडौं । एक हप्तादेखि लगातार बढिरहेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज २१.६० अंकको गिरावट आई २६८४.७६ विन्दुमा पुगेको छ ।
नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ५० करोड ३ हजारको शेयर कारोबार भएकोमा आज ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपियाँको शेयर किनबेच भएको छ ।
आज माथिल्लो माइलुङ खोला जलविद्युत् कम्पनी र कर्पोरेट डेभलेपमेन्ट बैंकको शेयर ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी बागमती हाइड्रो पावरको ४ प्रतिशतभन्दा बढी र सिन्धु विकास बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । राप्ती हाइड्रो पावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी गुडविल फाइनान्सको डिभेन्चर र ग्रिन डेभलेपमेन्ट बैंकको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज पनि नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८० करोड ७० लाख बराबरको शेयर खरिदबिक्री भएको छ । गार्डियन माइक्रोफानान्सको ४१ करोड ७१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्टको २४ करोड १७ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने अन्य सबै उपसमूहको शेयरमा गिरावट आएकोे छ ।