
प्रकाश सिलवाल/सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई हिजो (सोमबार) सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्नुभएको छ ।

सेभिया(स्पेन), १६ असार : प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै ।तस्बिर सौजन्य : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय/रासस
स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिनुभयो । यस सम्मेलनले अनुमोदन गर्ने सङ्कल्पले दिगो विकासका लागि सन् २०३० को एजेन्डा प्राप्तिका लागि नवीकरण गरिएको विश्वव्यापी वित्तपोषण ढाँचाको प्रतिज्ञा रहेको उहाँको भनाइ छ ।
“विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन् । यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ । हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई शून्य दशमलव सात प्रतिशत आधिकारिक विकास सहायता (ओडिए) प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्दछौँ ।”
प्रधानमन्त्री ओलीले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै त्यसो हुनसकेमा सबै देशले लाभ प्राप्त गर्नसक्ने बताउनुभयो । उहाँले सबैलाई साझा समृद्धि ल्याउने मूल्य शृङ्खलामार्फत विश्वव्यापी उत्तर र दक्षिणलाई जोड्न निजी क्षेत्रको सहयोगका पक्षमा भएको बताउनुभयो । उहाँले सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य तथा पर्याप्त जलवायु वित्तका लागि आह्वान गर्दै विकासका लागि वित्तसम्बन्धी चौथो सम्मेलनले यसका लागि महत्त्वपूर्ण उत्प्रेरणाको आधार खडा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वको कूल गार्हस्थ (जिडिटी)को तुलनामा अल्पविकसित मुलुकको प्रगति सन्तोषजनक नहुनु र कतिपय मुलुकमा तेब्बर घाटा (ऋण) हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै न्याय, पारदर्शिता र समतामूलक आधारमा विश्व आर्थिक प्रणालीको ‘कोर्स करेक्सन’ गर्न आह्वान गर्नुभयो । उहाँले नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसका लागि विकास साझेदारबाट उचित सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महाससिचव एन्टेनियो गुटेरेसबीच आजै दुईपक्षीय भेटवार्ता भएको थियो । रासस