RayNewsDaily
शेयर बजारमा उच्च गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३२.१६ अंक घटेर २५९६.७४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ३१ रुपैयाँ ६२ पैसा बढेर ३४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पियोर इनर्जीको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज दोर्दी खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७५ करोड ७३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको साढे ७४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको साढे ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update