
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २४.७६ अंक घटेर २६२८.९१ विन्दुमा झरेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । हिजो ९ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको पियोर इनर्जीको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, रसुवागढी हाइड्रोपावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब ४८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । घटेकामध्ये व्यापार उपसमूहको परिसूचकमा सर्वाधिक २.४७ प्रतिशतको गिरावट आएको छ ।