RayNewsDaily
आज जयतु संस्कृतम् दिवस   

काठमाण्डू, २०८२ असार १ गते आईतबार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।    
    
वि.सं. २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।    
    
आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनका विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्ठित गरेको थियो ।    
    
डाँडा कटाइएका विद्यार्थी देशका विभिन्न भाग हुँदै भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।    
    
आन्दोलनको स्वर्ण वर्षका अवसरमा २०५५ सालमा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने जनाइएको छ ।    
    
राससका अनुसार कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ । माल्यार्पण र स्वस्ति वाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय (दरबार हाइस्कुल)मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ७९औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जानकारी गराएको छ ।    

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update