
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक आज ९.०८ अंक घटेर २६५५.३८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ९ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएकोमा आज १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । पियोर इनर्जीको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब ७ प्रतिशतले वृद्धि भएको छ भने तेह्रथुम पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सानिमा माई हाइड्रोपावरको ७५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको करिब साढे ५४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक २.४४ प्रतिशतले वृद्धि भएको छ ।