रे समाचार/काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २५.०७ अंकले वृद्धि भई २६७८.१७ विन्दुमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ८ अर्ब ६८ करोड ९३ लाख ५० हजारको शेयर कारोबार भएकोमा आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रूपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, समृद्धि फाइनान्सको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रावा इनर्जी डेभलेपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीको शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४९ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, अरुण काबेली पावर लिमिटेडको ५३ करोड १३ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ४६ करोड ५६ लाख रुपियाँको शेयर किनबेच भएको छ । आज नेप्सेमा सूचिकृत १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।