
रेमाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । शेयर बजार मापक नेप्से परिसूचकमा आज ११.०६ अंकको गिरावट आई २६२९.८९ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबारमा भने वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७ अर्ब ९७ करोड ८ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रूपियाँको शेयर किनबेच भएको छ ।
आज रिभर फल्स पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यसैगरी, छ्याङ्दी हाइड्रो पावर र हिमालयन पावर पार्टनरको शेयर ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य भने आज नकारात्मक सर्किट लेभलमा गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७२ करोड ९५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, युनिभर्सल पावर कम्पनीको ६२ करोड २७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने न्यादी ग्रुप पावर कम्पनीको ६१ करोड ७१ लाख रुपियाँको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज हाइड्रो पावर र व्यापार उपसमूहको शेयर वृद्धि भएको छ भने अन्य ११ उपसमूहको शेयरमा गिरावट आएको छ ।